रूपाकोट संवाददाता–

खोटाङ, असोज २३–साकेला गाउँपालिकाले सुरु गरेका सामाजिक सुरक्षा भुक्तानी शिविरको दोश्रो दिन असोज २३ गते ९३ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लाभग्राहीलाई सुविधा दिने उद्देश्यले उक्त गाउँपालिकाको वडा नं १ बाँझेच्यानडाडाँको डाडाँगाउँस्थित चण्डेश्वरी माविमा आयोजना गरिएको शिविरमा ९३ जना लाभग्राहीलाई १९ लाख ८ हजार रूपैयाँ वितरण गरेको हो ।

शिविरको पहिलो दिन असोज २२ गते बाँझेच्यानडाडाँको वडा कार्यालय र सेखुवाको डाडाँटोलमा भएको शिविरमा ९१ जना लाभग्राहीलाई १९ लाख ८२ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उक्त गाउँपालिकाका सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङले बताएका छन् । उनका अनुसार असोज २४ गते वडा नं ३ खिदिमामा, असोज २६ गते वडा नं २ रतन्छामा र असोज २७ गते मात्तिमबिर्तामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ । वडा नं ४ मात्तिमका लाभग्राहीले भने नेपाल एसबिआइ बैंकको शाखाबाटै सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । 

उक्त गाउँपालिकामा एक हजार ३ सय ३४ जना लाभग्राही छन् । यसका लागि पहिलो त्रैमासिकमा एक करोड ३२ लाख निकासा भएको चाम्लिङले सुनाएका छन् । निकासा भएको रकम गाउँपालिकाले आयोजना गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा नेपाल एसबिआइ बैंकका कर्मचारी मार्फत गाउँ–गाउँमा पुगेर वितरण गर्ने गरिएको हो ।