सविना अछामे–

खोटाङ, चैत ५–जिल्लाको खानीडाडाँ–याम्खा रातमाटा–दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुदै पञ्चमी बजारसम्मको सडक कालोपत्रेको शिलान्यास गरिएको छ । कोशी प्रदेशसभा सदस्य तथा कोशी प्रदेश पूर्व भौतिक पूर्वाधार एबम स्वास्थ्य मन्त्री भूपेन्द्र राईले चैत ५ गते उक्त सडक कालोपत्रेको शिलान्यास गरेका हुन् ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १७ करोड, ३७ लाख ८२ हजार ४९ रूपैयाँको लागतमा ८.०२ किलोमिटर सडकको कालोपत्रे हुने भएको हो । २०८४ माघ १७ गतेभित्र सक्ने गरी यु.एस.जि.–रक्तकन्या–हिमश्रृङ्खला जेभी काठमाडौंले २०८२ माघ १८ गते पूूर्वाधार विकास कार्यालय खोटाङसंग संझौता गरेको थियो । 

उक्त योजनाको २४ करोड ९९ लाख ६६ हजार २ सय २० रूपैयाँको लागत अनुमान भए पनि त्यसभन्दा साडे ७ करोड कममा ठेक्का परेको हो । यसबाट सडक कटिङ, पक्की नाली निर्माण, रिटेनिङ पर्खाल र जाली, पाइप कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्रे गर्नु पर्ने स्टिमेटमा उल्लेख छ ।

उक्त योजनाका लागि प्रदेश सरकारले बहुवर्षीय रूपमा श्रोत सुनिश्चितता गरी ठेक्का आह्वान गर्ने अनुमति दिएको र त्यही अनुसार बहुवर्षीय रूपमै बजेट पनि व्यवस्था गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताएका छन् । उनका अनुसार चालु आर्थिक वर्षका लागि ५ करोड बजेट विनियोजन गरिएको छ । 

निर्माण सम्वद्ध साइड इन्चार्ज गोविन्द लामिछानेले वर्षाअघि सडक कटिङ र रिटेनिङ पर्खाल सक्ने र त्यसपछि वर्षा सकिनासाथ नाली लगायतका काम सुरु गर्ने योजना बनाइएको बताएका छन् । सम्भव भएसम्म अर्को असार अगाडि नै कालोपत्र गर्ने लक्ष्य राखिएको  लामिछानेको भनाइ छ । 

उक्त योजनाका लागि बजेट, साइटको विवाद र प्राविधिक विषयमा कुनै समस्या नभएकाले बेलैमा काम सक्नका लागि कार्यालयको तर्फबाट पूर्ण रूपमा सहयोग हुने पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख दाहालले बताएका छन् ।

जिल्लाको उत्तरीक्षेत्र र दक्षिणी क्षेत्र जोड्ने महत्वपूर्ण सडक भएकाले यसले जिल्लाको समृद्धिका लागि महत्वपूर्ण योगदान गर्ने हुदा बेलैमा सक्नका लागि रफ्तारमा काम गर्नु पर्ने पूर्व मन्त्री राईले बताएका छन् ।