रूपाकोट संवाददाता–

खोटाङ, असोज २३–जिल्ला सदरमुकाम दिक्तेलमा गोलभेडा अभाव भएको छ । यहाँका तरकारी तथा फलफूल पसलहरूमा गोलभेडा नपाएपछि दसैंको बेला उपभोक्ताले खरिद गर्न नपाएका हुन् । 

दिक्तेल हटियामा समेत आवश्यक गोलभेडा नपाएको उपभोक्ताहरूले बताएका छन् । हटियामा आएको थोरै गोलभेडा प्रतिकेजी एक सय ९० रूपैयाँसम्ममा किनबेच भएको तर त्यो पनि नपाएको उपभोक्ताहरूले बताएका छन् । 

दिक्तेल बजारमा असोज २३ गते कुनै–कुनै ठाउँमा पाइएको गोलभेडा दुई सय रूपैयाँसम्ममा किनबेच भएको पाइएको छ । उत्पादक किसानले गोलभेडा उपलब्ध नगराएपछि अभाव भएको दिक्तेल बजारका संगमटोलस्थित फलफूल व्यवसायी श्याम पौडेलले बताए । ‘रोग, लामो समयसम्मको झरिले गोलभेडा उत्पादन भएन भन्छन् किसानहरू’ पौडेलले भने–‘त्यही भएर गोलभेडा अभाव र महङ्गो भएको हो ।’

नगरपालिकामा व्यवसायिक किसान थोरै मात्र भएको र थोरैले सञ्चालन गरेको कृषि फर्ममा रोग तथा झरिका कारण गोलभेडा उत्पादन नभएपछि बजारमा दिन नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताए । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले तरकारी तथा फलफूलजन्य वस्तु उत्पादनम जोड दिए पनि बजारमा भने अभाव भएको छ ।