रूपाकोट संवाददाता––
खोटाङ, असोज ११–स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याकन र वित्तीय शासन जोखिम मुल्याङ्कनमा प्रथम दोश्रो र तेश्रो हुने स्थानीय तहलाई जिल्ला समन्वय समिति खोटाङले सम्मान गरेको छ । असोज ११ गते जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित संघीय, प्रदेश र स्थानीय तह र संघसंस्थाहरू आर्थिक वर्ष २०८०/८१ को वार्षिक वजेट समीक्षा र चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम प्रस्तुतीकरणमा सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्थानीय तह वित्तीय शासन जोखिम मुल्याङ्कनमा ९२ अंक ल्याएर प्रथम हुने हलेसी तुवाचुङ नगरपालिका, ८२.५ अंक ल्याएर दोश्रो हुने रावाबेसी गाउँपालिका, ७९.५ अंक ल्याएर तेश्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई सम्मान गरिएको हो ।
त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वःमुल्याकनमा ८३ अंक ल्याएर प्रथम हुने हलेसी तुवाचुङ नगरपालिका, ८० अंक ल्याएर दोश्रो हुने दिप्रुङ चुइचुम्मा गाउँपालिका र ७८.२५ अंक ल्याएर तेश्रो हुने केलिासगढी गाउँपालिकालाई सम्मान गरिएको छ । संस्थागत क्षमता स्वःमुल्याङ्कन र वित्तीय शासन जोखिम मुल्याङ्कनका लागि सम्वन्धित स्थानीय तहले गरेको कामको लेखाजोखा गरी जिल्ला समन्वय समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने प्रावधान छ । त्यसको आधारमा मन्त्रालयले छनौट गर्छ ।




















