रूपाकोट संवाददाता–
खोटाङ, भदौ ३१–दुई करोड बढी खर्च गरेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएको कम्पोष्ट मल उद्योग अलपत्र परेको छ । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ठेक्का मार्फत एक करोड ९० लाख ७० हजार ६ सय ४ रूपैयाँ र कोटेसन मार्फत दश लाख भन्दा बढीमा सम्पन्न कम्पोष्ट मल उद्योग अलपत्र परेको हो ।
ठेक्का बाहेक कोटेसन मार्फत विभिन्न समयमा सञ्चालित योजनाहरूमा दश लाख रूपैयाँ भन्दा बढीको खर्च गरिएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले बताए । ‘ठेक्का बाहेक अन्य थुप्रै योजना कोटेसन मार्फत गरिएको छ’ भट्टराईले भने–‘गार्डेनिङ, पर्खाल, ट्रनेल, विद्युत ट्रान्स्फर्म, ल्याव मेसिन लगायत कोटेसनमा खर्च भएको छ ।’
नगरक्षेत्रभित्रको फोहरबाट कम्पोष्ट मल उत्पादन गरी नगरलाई अर्गानिक बनाउने उद्देश्यले उक्त कम्पोष्ट मल प्लान निर्माण गरिएको थियो । तर व्यवस्थापन समस्याका कारण उक्त अलपत्र अवस्थामा पुगेको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले २०७६ असार १ गते सिलान्यास गरी काम सम्पन्नपछि तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उद्घाटन गरेका थिए ।
मल उत्पादन समेत सुरु भइसकेको उक्त उद्योगप्रति वर्तमान स्थानीय सरकारले समेत चासो नदिदा जीर्ण बनेको किसानको गुनासो छ । ‘नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा मल उद्योग बन्द छ,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का किसान गङ्गाबहादुर वश्वकर्माले भने–‘व्यवस्थापन गर्न सकेको भए किसानलाई मलको सहज, रोजगारको व्यवस्था, फोहर व्यवस्थापन र नगरपालिकालाई समेत आम्दानीको श्रोत हुन्थ्यो ।’
उक्त मल उद्योगका लागि विश्वकर्माले छ रोपनी जग्गा दिएका हुन् । यसमध्ये चार रोपनी २०९१ सालसम्मका लागि लिजमा र दुई रोपनी जग्गा निःशुल्क रूपमा नगरपालिकालाई उपलब्ध गराएका हुन् । ‘नगरले राम्रै योजना बनायोजस्तो लागेर जग्गा दिएँ तर जम्मा जम्मी हल्ला मात्र भयो, काम भएन’–विश्वकर्माले भने ।
उक्त ठाउँमा कृषि श्रोत केन्द्र स्थापना गर्ने रणनीति अपनाइएको थियो । पशु तथा कृषि ल्याव लगायतका अन्य पूर्वाधारहरू समेत निर्माण गरिएको तर व्यवस्थापन अभावमा यी सबै अलपत्र परेको छ ।
बनेको संरचनालाई कसरी सञ्चालन गर्ने भन्ने बारे आफैंमा दुविधाग्रस्त रहेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाई निर्माण गरेकाले यस्तो अवस्था आएको भट्टराईको दाबी छ । ‘कच्चा पदार्थ लगायतका कम्पोष्ट मल प्लान सञ्चालनको दीर्घकालीन योजना नबनाई करोडौं रकम खर्च गरिएकाले यो अवस्था आयोे’–भट्टराईले भने–‘सञ्चालन गर्ने बारे अध्ययन भइरहेको छ ।’
कम्पोष्ट मल प्लान मेसिन खरिद तथा संरचना निर्माणमा आर्थिक वर्ष २०७५/७६ मा एक करोड चार लाख ५२ हजार पाँच सय रूपैयाँ खर्च भएको थियो । उक्त कामको ठेक्का रिसोर्स एण्ड चेन्ज मेनेजमेन्ट प्रालि काठमाडौंले लिएको थियो ।
उक्त उद्योगको कम्पाउण्ड निर्माणमा पनि ठूलै खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा मुकुन्द इन्दिरा निर्माण सेवाले ४४ लाख ४३ हजार पाँच सय ४६ रूपैयाँको लागतमा कम्पाउण्ड निर्माणको काम गरेको थियो ।
पोखरी निर्माण र हाइटेक ग्रीन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रीन हाउस निर्माणमा पनि मनग्गे खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा हाइटेक ग्रीन हाउस निर्माणमा १० लाख ६ हजार ६०४ रूपैयाँ खर्च भएको थियो । उक्त कामको ठेक्का वेष्ट कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि सुनसरीले लिएको थियो ।
मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थका लागि भैसी खरिद, कम्पोष्ट मल प्लान उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि फूल, विभिन्न किसिमका विरुवा तथा सजावटका सामग्रीहरूमा पनि खर्च भएको छ । यो सहित विभिन्न योजनाका कामहरू करिब दश लाख बढीको कोटेसन मार्फत गरिएको भट्टराईले बताए । मल उद्योगका लागि आवश्यक मलमुत्रका लागि खरिद गरिएको भैसी समेत यो बेला छैन । दुई लाखमा खरिद गरिएको तीन भैसीमध्ये एउटा मरेको र दुई वटा ९० हजारमा लिलाम गरिएको भट्टराईको भनाई छ । कम्पोष्ट मल प्लानका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, दुई वटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ । बनेको संरचना पनि व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले नगरको कार्यक्षमताप्रति प्रश्न चिन्ह खडा भएको स्थानीयको गुनासो छ ।




















