रूपाकोट संवाददाता–
खोटाङ, भदौ १८–जिल्लाको सुक्खाग्रस्त हलेसी क्षेत्रमा निर्माणाधीन बृहत पम्पिङ खानेपानी आयोजनाको काम अलपत्र परेको छ । विभिन्न निर्माण कम्पनीहरूले ठेक्का लिएर करिब अन्तिम चरणमा आएर काम थाती राखेपछि अलपत्र परेको हो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले हलेसी क्षेत्रको उपभोक्तालाई खानेपानी पु¥याउँन करिब ९६ करोड ४५ लाख चार हजार एक सय ३८ रूपैयाँको लागतमा सम्पन्न गर्ने गरी विभिन्न निर्माण कम्पनीहरूले ठेक्का पारेका थिए ।
उक्त आयोजनाको १ नम्बर प्याकेज अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–८ सल्लेको महादेवबेसीबाट हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी काभ्रेडाडाँ र २ नम्बर प्याकेज अन्तरगत उक्त नगरपालिकाकै वडा नं १ बाहुनीडाडाँको कदुवा लिलिमाबेसीबाट भुम्जुडाडाँमा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ मङ्सिरमा सक्ने गरी २०७४ असार २१ गते संझौता गरेको थियो । उक्त मेनलाइनको करिब ३१ करोड ७५ लाख ९६ हजार ५६ रूपैयाँको लागतमा सक्न गरी ठेक्का लिएको थियो ।
यसमध्ये १ नम्बर प्याकेजको मेनलाइनको काम अन्तरगत पानी तान्ने ६ वटा पम्प मध्ये २ वटा मात्र जडान गरिएको छ । अन्य ४ वटा जडान गर्न बाँकी छ । २ नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको छ । तर शाखा लाइनको काम भने बाँकी छ । शाखा लाइनको कामको ठेक्का लिएका निर्माण कम्पनीले काम थाति राखेपछि अलपत्र परेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीको भनाई छ ।
लिलिमाबेसीबाट भुम्जुडाडाँसम्म निकालिएको पानी वडा नम्बर १, २, ३ का २४ सय ९ घरधुरीलाई वितरणको ठेक्का लामा कन्ट्रक्सनले लिएको थियो । उक्त निर्माण कम्पनीले ३७ करोड ९३ लाख रूपैयाँकोे लागतमा २०७७ साउन १ गते सक्ने गरी २०७५ साउन १ गते संझौता गरेको थियो ।
त्यस्तै महादेवबेसीबाट काभ्रेडाडाँमा निकालिएको पानी नगरका वडा नं ५, ६ र ७ का २४ सय ८८ घरधुरीलाई पानी पु¥याउने ठेक्का रमण–सगरमाथा–सगरमाथा घिमिरेले लिएको थियो । उक्त निर्माण कम्पनीले करिब २६ करोड ७५ लाख ५१ हजार ९ रूपैयाँको लागतमा २०७७ साउन १ गते सक्ने गरी २०७५ साउन १ गते संझौता गरेको थियो । तर उक्त निर्माण कम्पनीले काम छाडेकाले अलपत्र परेको गिरीको भनाई छ ।
वर्षौदेखि पटक–पटक म्याद थप्ने तर आयोजना नसक्नुले जनतामा निरासा छाएको गिरीको भनाई छ ।
सुक्खा क्षेत्रमा पानीको अभाव टार्न आयोजना सञ्चालन गरिए पनि बेलामा नसक्दा पानी किनेर व्यवसाय सञ्चालन गर्नु परेको व्यवसायीहरूको गुनासो छ ।




















