रूपाकोट संवाददाता–
खोटाङ, भदौ १२–करोडौंको लगानीमा निर्माणाधीन अवस्थामा रोकिएको खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटास्थित एक सय फिट अग्लो यलम्बरको सालिक निर्माण सुरु भएको छ । करिब ११ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माणाधीन अवस्थामा रोकिएको यलम्बरको सालिक निर्माण सुरु भएको हो ।
कोशी प्रदेशको ७० र स्थानीय तहको ३० प्रतिशत गरी ११ करोड ५८ लाख १६ हजार रुपैयाँको लागतमा सालिक निर्माण भइरहेको हो । २०७९ माघ मसान्तसम्म सक्ने गरी २०७९ असार २८ गते उमा–तुवाचुङ–अन्सुली जेभीले संझौता गरेको थियो ।
बेलामा काम नसकिँदा दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८१ असोजसम्मका लागि म्याद थपिएको छ । नगरपालिकाले स्ट्रक्चर डिजाइन बेलामा नदिँदा ढिलाई भएको निर्माणमा सम्बद्ध सुनिल राईले बताएका छन् ।
।
आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाको बजेटबाट पार्क निर्माण सुरु भएको थियो । त्यतिखेर विनियोजित ७२ लाख रूपैयाँबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गर्ने गृह लगायतको काम उपभोक्ता मार्फत गरिएको नगरपालिकाले विवरण उपलब्ध गराएको छ ।




















